बाँदर नियन्त्रणका लागि रुख काट्ने निर्णयले यतिखेर चर्चामा छ पोखरा महानगरपालिकाको १९ नम्बर वडा । महानगरले वडाध्यक्षको निर्णयमा रोक लगाइसकेको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो निर्णयको बचाउ गरेका छन् । ठूला रुख काट्नु प्राथमिक उपाचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुने कुरा आफूहरूले नगरेको उनको प्रष्टोक्ति छ ।
अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ-आफ्ना घरवरपरका रुख काट्न सूचना निकालेका थिए । आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको उनको दाबी छ । आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरूले यसरी टिकाटिप्पणी गरेको पाण्डेले बताए ।
पाण्डेले भने, ‘हाम्रो यहाँ बाँदर नियन्त्रण समिति बनेको थियो । बाँदरको बारेमा नजानेका मानिसहरूले भन्नु स्वाभाविक नै हो । शहरकाहरूले भन्नु । बालीनाली भित्र्याउन त परको कुरा पकाएको भातसमेत खान पाएका छैनन् । जनता हामीलाई बाटो चाहिएन, अरु विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ भन्छन् । बाँदर नियन्त्रण गरे अरु १० वर्ष केही बनाउनु पर्दैन भन्ने छ । चर्को जनदबाब छ । त्यो नियन्त्रणका लागि समिति नै बनाएका छौं ।’