काठमाडौँ – नाडा अटो सोमा दर्शकको भीड बढेको छ । भदौ २६ देखि सुरु भएको १५औं संस्करणको नाडा अटो सोमा शनिबार मात्र १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । दुई र चारपांग्रे दुवै किसिमका सवारीमा दर्शकको आकर्षण उत्तिकै रहेको नाडाको भनाइ छ ।
प्रदर्शनीमा आएका धेरैले सवारी साधनबारे सोध्ने र केहीले बुकिङ पनि गरिरहेको नाडा अटो सो २०२३ समितिका सभापति अनुपकुमार बरालले बताए । ‘पछिल्ला वर्ष कोभिड र सरकारले सवारी साधनको आयातमा लगाएको प्रतिबन्धले गर्दा मेला आयोजना गर्न सकेनौं,’ उनले भने, ‘यस पटक आयोजना गरेको मेला यसअघि आयोजना गरेको मेलाभन्दा राम्रो छ, दर्शकको सहभागिता पनि सोचेभन्दा राम्रो छ ।’
यसअघिका संस्करणमा पार्किङले गर्दा मेलामा समस्या हुने गर्थ्यो । अहिले चारपांग्रे सवारीलाई मेलाभन्दा बाहिर नै पार्किङको व्यवस्थापन गरिएको छ । ‘चारपांग्रे सवारीका लागि जहाँ पार्किङको व्यवस्थापन गरिएको छ, त्यहाँबाट मेलासम्म आउन सटल बसको व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘जसले गर्दा मेला व्यवस्थित बनेको हो ।’ मेलामा आउने दर्शकको बढी ध्यान विद्युतीय सवारीमा जाने गरेको छ । त्यसमा दुईपांग्रे विद्युतीय सवारीबारे सोध्नेहरू धेरै भेटिने गरेका छन् । किशोर–किशोरीदेखि पाका उमेरका मानिस अटो सोमा आएको बरालको भनाइ छ ।
अटो सोमा विभिन्न ४५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएको उनले जनाए । चाडबाड नजिकिँदै गर्दा आयोजना गरिने अटो सोले अर्थतन्त्रलाई चलायमान बनाउने व्यवसायीहरूको भनाइ छ । जहाँ वित्तीय संस्था, सवारीसाधन, ब्याट्री, टायर, लुब्रिकेन्टलगायतका १२० वटा स्टल राखिएका छन् । १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल राखिएका छन् । लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरणका ३० कम्पनीको सहभागिता छ ।
अटो सोमा आफूलाई मन परेका सवारी किन्न र बुकिङ गर्न सकिने बरालले बताए । एउटै छानामुनि सबै ब्रान्डका सवारी साधन हेर्न र रोज्न पाइने उनको भनाइ छ । भदौ ३१ सम्म चल्ने अटो सोमा ७५ हजार आगन्तुक सहभागी हुने र २० अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको सभापति बरालले जनाए । अटो सोमा वर्षभरि हुनेमध्ये ६० प्रतिशत व्यापार हुने गरेको व्यवसायीको भनाइ छ ।