काठमाडौं । बुधबारदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । संविधान दिवसको अवसर पारी सरकारले बुधबार बिहान ९ बजे सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस सेवाको उद्घाटन गर्दैछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायकका मेयरहरु सवार द्रुत बस रत्नपार्कबाट छुट्नेछ । यो बस निर्धारित ४५ मिनेटमा सूर्यविनायक पुग्नेछ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता सवारी साधान चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको हो ।
द्रुत बस चल्ने लेनमा सडक विभागले मंगलबार रातिसम्म मार्किङ गरेको छ । मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।
सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बसहरु चल्ने लेनमा २/२ सय मिटरमा रेड मार्क गरिएको जानकारी उनले दिए ।