२९ भदौ, काठमाडौं । चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

‘२७ भदौमा चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ थियो, त्यसलाई होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएका छन्,’ संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीले भने । नयाँ होलसेल मूल्य आएपछि चिनीको खुद्रा मूल्य १३० रुपैयाँ हराहारी पुगेको उनले बताए ।

होलसेल व्यापारीहरूले बजारमा सिन्डिकेट कायम गरेपछि अहिले मूल्य बढ्ने मात्रै होइन, अभाव समेत सृजना भएको छ । होलसेल व्यापारीको मनपरीका कारण चिनी बिक्री गर्नै नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ । ‘हामीले चिनीको कारोबार नै नगर्ने निर्णय गरेका छौं,’ उनले भने ।

एक महिनाको बीचमा चिनीको प्रतिकेजी मूल्य १०५ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । यसअघि १ भदौमा चिनीको प्रतिकेजी खुद्रा बिक्री मूल्य १०५ रुपैयाँ थियो । एक महिनामै प्रतिकेजी चिनीको मूल्य २५ रुपैयाँ बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *