काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण ‘पेण्डिङ’मा राख्ने निर्णय गरेको छ ।
दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकमा एमाले राजनीतिमा सक्रिय हुने घोषणा गरेकी भण्डारीको विषयमा छलफल भएको थियो । शुक्रबार र शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामा रहेको भन्दै पार्टीले पछि निर्णय गर्ने जानकारी दिए ।
गौतमले भने, ‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौँ भन्नुभएको छ ।’










