काठमाडौँ । हालै उपाध्यक्ष पदबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीलाई पदबाट हटाउने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कर्णाली प्रदेशका जिल्लास्तरीय अध्यक्षहरूले गम्भीर आपत्ति जनाएका छन्। पार्टी स्थापना कालदेखि नै सक्रिय रहेका गिरीलाई हटाएको भन्दै उनीहरूले पार्टी केन्द्रीय नेतृत्वलाई एक सामूहिक अपिल समेत गरेका हुन् ।
जिल्ला अध्यक्षहरूद्वारा जारी अपिलमा उल्लेख छ, ‘गिरीज्यूको पार्टीप्रतिको समर्पण, योगदान, त्याग र निष्ठाको मूल्याङ्कन नगरी गरिएको यो निर्णय न त पारदर्शी हो, न नै विधानसम्मत।‘ उनीहरूका अनुसार यो निर्णयले कर्णाली प्रदेशमा पार्टी संगठनलाई थप कमजोर बनाउने र कार्यकर्तामा निराशा फैलाउने खतरा उत्पन्न भएको छ।
उनीहरूले पार्टीको बृहत्तर हित र आन्तरिक एकतालाई ध्यानमा राख्दै, गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय तुरुन्त फिर्ता गरी उनलाई पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापित गर्न केन्द्रीय अध्यक्षको ध्यानाकर्षण गराएका छन्।










