काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आबद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत् आबद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा शेयरमा गरेको लगानी जस्तो नभएको बताएका हुन् । उनले भने, ‘कतिपय सन्दर्भमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन ।
र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । यसको ‘थेम’ यति मात्रै बुझ्दा पनि हुन्छ । यसले कसैलाई धनी चाहिँ बनाउँदैन सोसियल सेक्युरिटीले । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला । अथवा शेयरमा लगानी गर्छु र स्वाट्टै त्यसको भाउ बढाएर म धनी हुन्छु भन्ने परिकल्पना हामीले गर्यौँ भने त्यो चाहिँ गलत हो, त्यो यसबाट सम्भव छैन ।’ महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रूपमा हेर्न र बचत वा लगानीको रूपमा नहेर्न पनि कानुन व्यवसायीहरूसँग आग्रह गरे ।










