काठमाडौँ । भदौ २३ र २४ गते भएका आन्दोलनले राजनीतिक रूपमा ठुलै परिवर्तन ल्यायो । आन्दोलनपछि देशले नयाँ प्रधानमन्त्रीमा सुशीला कार्कीलाई पाइसकेको छ । कार्कीलाई विश्वका विभिन्न देशले शुभकामना तथा बधाई दिने क्रम जारी छ ।
यतिबेला सिंहदरबारदेखि देशका सरकारी भवन र न्यायालयहरूसमेत क्षतिग्रस्त अवस्थामा छन् । यस्तोमा अब नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको निकै ठुलो खाँचो छ, तर यसप्रति कतैबाट समन्वय भने भइसकेको छैन । मन्त्रिपरिषद्ले समेत पूर्णता पाएको पनि छैन । परराष्ट्रमन्त्री नभएकाले परराष्ट्र मन्त्रालय नै अलमलमा छ ।
परराष्ट्रका एक अधिकारी भन्छन्, ‘यो बेला नै मन्त्रालय सशक्त हुनुपर्ने हो, विश्वसँग समन्वय गरेर हरेक प्रकारको सहयोग ल्याउनुपर्ने हो, तर अहिले हामी नै अलमलमा छौँ ।’ विगतजस्तो सामान्य अवस्था भएको भए मन्त्री नहुँदा काम गर्न त्यति गाह्रो नहुने उनी बताउँछन् । ‘अहिले परिस्थिति पूरै परिवर्तन भएको छ, कसरी अगाडि बढ्ने, कहाँ र कोसँग समन्वय गर्ने नै अन्योल देखिएको छ,’ ती कर्मचारी बताउँछन् ।










