काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाइल्याण्डकी ४४ वर्षीया रुसानी कामा रहेकी छन् । उनी लाओसबाट बैंकक हुँदै थाइ लायन एयरको उडानमार्फत काठमाडौं आएकी थिइन् । विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ब्युरोका प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार प्रारम्भिक खानतलासी गर्दा उनको झोलाभित्र फल्स बटम बनाएर लुकाइएका खैरो रङको टेपले बेरिएका १२ वटा कोकिनका क्याप्सुल फेला परेका थिए । त्यसपछि पेटभित्र पनि लागूऔषध निलेर ल्याएको आशंकामा उनलाई नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको थियो ।
अस्पतालमा सिटी स्क्यान गर्दा पेटमा शंकास्पद वस्तु देखिएपछि थप २९ वटा कोकिनका क्याप्सुल निकालिएको ब्युरोले जनाएको छ । झोलाबाट बरामद १२ र पेटबाट निकालिएका २९ गरी कुल ४१ वटा क्याप्सुल बरामद गरिएको छ । बरामद कोकिनको कुल तौल ५५० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ परेकी कामामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।










