काठमाडौं : तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आक्रमणका कारण बिरामी आमालाई बचाउन नसकिएको दुखेसो पोखेका छन्।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा सोमबार बयान दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आमालाई समयमै अक्सिजन दिन नपाउँदा निधन भएको भावुक प्रसंग सुनाएका हुन्।
‘आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो, एक-एक छिनमा अक्सिजन दिनुपर्ने अवस्था थियो,’ लेखकले भने, ‘२४ गतेको दिन प्रदर्शनकारीको आक्रमणबाट आमालाई जोगाउनुपर्यो। विना अक्सिजन नै आमालाई केही समय लुकाएर राख्नुपर्यो। अक्सिजन विना नै अस्पताल पुर्याउँदा फोक्सोमा निमोनिया सुरु भएर केही दिनपछि आमा दिवंगत हुनुभयो।’










