काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो।
कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। उक्त सन्देशमा राष्ट्रपति मुर्मुले भारतको लोकतान्त्रिक मूल्य, समावेशिता, तथा विकास यात्राबारे चर्चा गर्नुभएको थियो।
गणतन्त्र दिवसको अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्नुभएको थियो। उहाँहरूलाई सम्मानपत्र तथा आर्थिक सहयोग प्रदान गरिएको थियो।
कार्यक्रममा कूटनीतिज्ञ, नेपाली सरकारी प्रतिनिधि, पूर्वसैनिक, सुरक्षाकर्मी तथा नेपालमा रहेका भारतीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। समारोहका क्रममा भारत–नेपालबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।












