स्वास्थ्य समस्याका कारण केही समय भारतमा उपचाररत रहेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पुनः काठमाडौं फर्किएका छन्।
गत मंसिर २७ गते चन्द्रागिरी क्षेत्रमा हाइकिङका क्रममा उनी अचानक बेहोस भएका थिए। तत्काल सुरक्षाकर्मीको सहयोगमा हेलिकोप्टरमार्फत उनलाई काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो। चिकित्सकले अवस्था गम्भीर रहेको जनाउँदै आकस्मिक उपचार थालेका थिए।
प्रारम्भिक उपचारपछि केही दिन काठमाडौंमै विश्राम गरेका श्रीवास्तव थप उपचारका लागि भारत गएका थिए। करिब डेढ महिनासम्म उपचार र स्वास्थ्य लाभपछि उनी पुनः नेपाल फर्किएका हुन्।
सन् २०१७ मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका श्रीवास्तवको कार्यकाल सकिए पनि भारत सरकारको विदेश मन्त्रालयले उनलाई हालका लागि अस्थायी रूपमा नेपालमै जिम्मेवारी दिइरहेको छ।










