प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एशियाली खेलकुदका लागि चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरूलई उनले आग्रह गरे ।
‘सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेपछि हुँदैन की भन्ने टेन्सन नलिनुहोला । हामीलाई भनेजस्तो पूर्वाधार छैन, त्यसकारण आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधारको कुरामा ध्यानाकर्षण भएको छ,’ प्रचण्डले भने, ‘यो पटकको चीन भ्रमणमा खेल क्षेत्रमा केही उल्लेख्य कामको निम्ति म पहल गर्नेछु ।’
उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको प्रस्टीकरण दिए । अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने उनको भनाइ छ ।
.jpg)
‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्ने कुरा मलाई जानकारी छ । केही प्राविधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएको म दुःख व्यक्त गर्न चाहन्छु । मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासमा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ,’ प्रचण्डले भने, ‘अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भइ आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’
देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै प्रचण्डले आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरूको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाए ।