काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैँ हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भुल गरेको आरोप लगाएको छ । बुधवार सङ्घीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसद्को पुँजीको रूपमा दर्ज भइसकेको विधेयकमा अर्थ मन्त्रालयले आफूखुसी फेरबदल गरेको भन्दै कडा आपत्ति जनाएका हुन् ।
सांसद मल्लले वर्तमान सरकारले एकपछि अर्को गर्दै विधिको शासन मिचिरहेको जिकिर गरे । संसद्मा पेस भइसकेको उक्त विधेयक सच्याउनका लागि सरकारलाई फिर्ता पठाउने वा नपठाउने भन्ने निर्णय गर्ने अधिकार केवल संसद्सँग मात्रै सुरक्षित रहने उनको भनाइ थियो ।
सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘दुःखद कुरा के भयो भने माननीय अर्थमन्त्रीज्यूले जुन बजेट पेस गर्नुभयो । र बजेटको एउटा अङ्गको रूपमा नेपालको सरकारको जुन अर्थ सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छ । त्यो विधेयक भनेको मुख्य गरी करको दरहरू हेरफेर गर्ने नै हो त्यो । त्यो विधेयक अर्थमन्त्रीले संसद्मा पेस गरिसकेपछि फेरि अर्थ मन्त्रालयले त्यसलाई संशोधन गरेर अपलोड गर्यो । जबकि संसद्को पुँजी भइसकेपछि, कुनै पनि विधेयक संसद्मा दर्ता भइसकेपछि संसद्मा पेस भइसकेपछि संसद्को पुँजी भइसकेपछि त्यो के गर्ने हो, संसद्ले नै गर्ने हो ।’
अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते नै उक्त आर्थिक विधेयक संसद्मा पेस गरेका थिए । संसद्मा एकपटक पेस भइसकेको कुनै पनि विधेयकमा संसद् बाहेक अरू कुनै पनि निकाय वा मन्त्रालयले फेरबदल गर्न नपाउने कानुनी व्यवस्था रहेको सांसद मल्लले स्पष्ट पारे ।
उनले थपे, ‘ कि संसद्ले फिर्ता पठाउँछ र उहाँहरूले संशोधन गर्न पाउनुहुन्छ कि संसद्मा सत्तारुढ दलका साथीहरूले पनि संशोधन हालेर त्यसलाई सच्याउन सक्नुहुन्छ । प्रतिपक्षले पनि संशोधन हाल्न सक्छ । त्यो व्यवस्था हुँदाहुँदै सरकारले आफैले फेरी संसद्मा पठाइसकेको विललाई उहाँहरू आफैले सच्याएर अपलोड गरिएको छ । यो विधि शास्त्रको हिसाबले पनि सरकारको ठुलो मिस्टेक छ । सरकारले एक पछि अर्को विधि किन मिचिरहेको छ ? आज हाम्रो यो प्रश्न हो ।’










