काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् । पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो ।

यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी छन् भने श्रीलंका सहभागी छैन ।

च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

नेपालले तेस्रो पटक साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *