वनसमिति–कसरौल सडक जोखिमपूर्ण

कञ्चनपुर, ३० साउन । शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने वनसमिति–कसरौल सडक जोखिमपूर्ण रहेको छ । सडकको दायाँ र बायाँ सुकेका साल, असनाका रुखका कारण जोखिम रहेको छ । जुनसुकैबेला गुडिरहेका सवारीसाधन र पैदलयात्रुमाथि रुखका हाँगा र रुख नै खसेर दुर्घटना निम्तिनसक्ने खतरा रहेको छ । स्थानीय रतनलाल रानाका अनुसार सडकमा पैदल हिँड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगाले लागेर केही वर्षअघि मृत्यु भएको थियो । विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमाथि सुकेको रुख खसेको थियो । बसमाथि रुख खसे पनि मानवीय क्षति भने नभएको उहाँ बताउनुहुन्छ ।

“स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि नै रुख खस्यो”, उहाँले भन्नुभयो, “गोठमा क्षति पुग्यो, तर बस्तुभाउ जोगिए, गत वर्षमात्रै दानु रानाको घरको कुना तोड्दै रुख खस्यो, धन्न घर जोगियो घरभित्रै परिवारका सदस्य थिए, सबै जोगिए ।” सुकेका रुखहरुकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । पुराना सुकेका जीर्ण भएका रुख जुनसुकैबेला पनि खस्नसक्ने भएकाले हटाउनुपर्ने पूर्ववडाध्यक्ष जगता रानाले बताउनुभयो । “विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको छ”, उहाँले भन्नुभयो, “हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षात्का बेला ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता छ, यसक्षेत्र भएर जाने अर्को वैकल्पिक सडक छैन, जोखिमसँगै हिँड्नुपर्छ ।” उहाँका अनुसार सडक छेउमा घर भएकाले रुख कुनबेला खस्ने हुन् पत्तो नै छैन ।

स्थानीय जहरसिंह रानाले भन्नुभयो, “गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना छ, पैदल यात्रुको टाउकामा कुनबेला रुखका हाँगा र रुख नै बजारिने हो पत्तो छैन, हावाहुरी चलेका बेला त्यस सडक भएर हिँड्नु भनेको ज्यान जोखिममा पार्नु हो, त्यही भएर वर्षात् र हावाहुरीका बेला त्यो सडक भएर हिँड्न नै छाड्छौँ ।” सडक छेउका जीर्ण रुख व्यवस्थापन गरिदिनका लागि उहाँ माग गर्नुहुन्छ । वनसमितिदेखि कसरौलसम्मको डेढ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयले रु तीन करोडमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इञ्जिनियर दिपक धाँमीले बताउनुभयो । “सुकेका जीर्ण रुख व्यवस्थापन नभई कार्य सञ्चालन गर्न कठिन छ”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिदेखि कालोपत्रसम्मका लागि वातावरण अध्ययन र डिपिआर निर्माणको कार्य भएको छ, सुकेका रुख काट्ने अनुमति अहिलेसम्म पाइएको छैन ।”

अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष दानसिंह ऐरका अनुसार वनसमिति–कसरौल सडक वडा नं ६, ७ र ८ तर्फ जाने मुख्य सडकका रुपमा रहेको छ । वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानीलगायत कार्यालय जाने मुख्य सडक त्यही नै रहेको छ । “सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेका छौँ”, उहाँले भन्नुभयो, “वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकनको कार्य गरिसकेको छ, समस्या लिएर मन्त्रालयसम्म पुगेका छौँ ।” उहाँका अनुसार सडक छेउका १०५ रुख हटाउनुपर्ने देखिएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गरेको छ । स्थानीयले तत्काल असुरक्षित रुख काटेर हटाउनुपर्ने, सडक कालोपत्रसँगै चौडाइ बढाउन माग गरेका छन् ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »