काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमै बहस गर्न चुनौती दिएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै थिङले गौतमले केही दिनअघि चितवनमा गरेको टिप्पणीलाई लक्षित गर्दै यस्तो चुनौती दिएकी हुन्।
गौतमले कार्यक्रममा संविधानबारे ज्ञान नभएकाहरू विधायिका भनेर घमण्ड गर्ने गरेको अभिव्यक्ति दिएकी थिइन्। थिङले संसद्लाई बहिष्कार गरेर बाहिर जानु होइन, संसद्भित्रै छलफल गरेर कसलाई संविधानबारे कति ज्ञान छ भन्ने परीक्षण गर्नुपर्ने बताइन्।
उनले भनिन्, “यस संविधानमा संसद् बहिष्कार गरेर बाहिर जाने होइन, यहीँ बहस गरौँ, छलफल गरौँ, कसलाई कति ज्ञान रहेछ छिनोफानो गरौँ। सदनबाहिर गएर कराएर सांसदहरूको अपमान गर्ने अधिकार गौतमलाई कसले दियो?” थिङले बैठक बहिष्कार गर्दै भत्ता बुझ्नेहरूले अरूलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको दाबी पनि गरिन्।










