काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बहिष्कार गरेर जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण अभियान घोषणा’ गर्दै छन् । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)सहित विभिन्न ९ वटा दलसँग माओवादीले एकता गर्ने घोषणा गरेपछि शर्मा असन्तुष्ट बनेका थिए ।
उक्त असन्तुष्टिसँगै उनी माओवादी छोड्ने निर्णयमा पुगेका हुन् । यसअघि नै शर्माले सचिवालय बैठकमा एकता गर्नु गलत भएको बताएका थिए । त्यही बेलादेखि उनी माओवादीको पुनर्गठन गर्ने बताउँदै आएका छन् ।
माओवादीको उपमहासचिव पदसमेत अस्वीकार गर्दै आएका शर्मालाई सचिव राम कार्कीले पनि साथ दिँदै छन् । कार्की पनि अध्यक्ष प्रचण्डसँग निकै लामोसमयदेखि असन्तुष्ट थिए । केही दिनअघि मात्रै सचिव गणेश साहले पनि माओवादी छोडेका छन् ।
शर्मालाई कार्कीका साथै सुदन किराँतीले पनि साथ दिने चर्चा छ । यद्यपि, माओवादी नेताहरू ‘क–कसले शर्मालाई साथ दिन्छन्’ भन्ने चाहिँ प्रस्ट भइसकेको छैन ।










