बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ।
उपमहानगरपालिका–१४, मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको बिहीबार राति विषालु सर्पले डसेपछि मृत्यु भएको हो। परिवारका अनुसार घरअगाडि बसिरहेको अवस्थामा राति करिब ८ बजे सर्पले डसेको थियो। उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
बालिकाको शव राति नै घर ल्याइएको थियो भने शुक्रबार बिहान प्रहरीलाई घटनाबारे जानकारी गराइएको छ। रजघट्टा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।
स्थानीय कृष्णबहादुर र दिपिका रानामगरकी छोरी दियान्सी जीतपुरसिमरा–१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन्। उनको निधनपछि जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका छन्।
यसअघि असार ८ गते जीतपुरसिमरा–१५, डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको पनि सर्पदंशबाट मृत्यु भएको थियो।
उपमहानगरभित्र सर्पदंश उपचार केन्द्र नहुँदा विषालु सर्पले टोकेका बिरामीलाई उपचारका लागि वीरगञ्ज वा हेटौंडा लैजानुपर्ने बाध्यता रहेको छ। विशेषगरी साना बालबालिकालाई सर्पले टोकेको जानकारी ढिलो हुँदा उपचारका लागि अस्पताल पुग्नुअघि नै बाटोमै ज्यान जाने गरेको स्थानीयहरूको भनाइ छ।
स्थानीयवासी विदुर खड्काका अनुसार घरमा एक्लै खेलिरहेका बालबालिकालाई सर्पले टोकेको जानकारी अभिभावकले समयमै नपाउँदा उपचारमा ढिलाइ हुने र त्यसले ज्यानै जाने अवस्था सिर्जना हुने गरेको छ।
एक सातामै पाँच वर्षमुनिका दुई बालिकाको मृत्यु भएपछि स्थानीयवासीले विकास बजेट कटौती गरेर भए पनि उपमहानगरभित्र तत्काल सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न नगरप्रमुख राजन पौडेलसँग सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।
नगरप्रमुख पौडेलले शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई समेत पत्राचार गर्दै नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक समन्वय, सहकार्य, सहयोग र सहजीकरण गरिदिन अनुरोध गरेका छन्।
पत्रमा भनिएको छ, “नगर अस्पतालमा सर्पदंश उपचार सेवा उपलब्ध नहुँदा व्यापक जनगुनासो आएको छ। सर्पदंश उपचार सेवा सुरु गर्न सकिने अवस्थाबारे स्पष्ट पार्दै आवश्यक मार्गदर्शन, सहयोग, समन्वय, सहकार्य तथा सहजीकरण गरिदिन अनुरोध गर्दछौँ।”
यसअघि पनि उपमहानगरपालिकाले २०८० पुस २० गते तत्कालीन नगरप्रमुख स्वर्गीय कृष्ण पौडेलको कार्यकालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यस्तै अनुरोध गर्दै पत्र पठाएको थियो।
सरकारले सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टिभेनम (विषविरुद्धको औषधि) तोकिएका स्वास्थ्य संस्थाबाट मात्रै उपलब्ध गराउँदै आएको छ।
उपमहानगर स्वास्थ्य शाखा प्रमुख रवि भास्करले महाशाखाबाट आवश्यक औषधि र सेवा सञ्चालनको अनुमति प्राप्त भए नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सुरु गर्न कुनै समस्या नहुने बताए। उनले सर्पदंशका कारण वर्षेनि कति जनाको मृत्यु हुन्छ भन्ने एकीकृत तथ्यांक भने स्वास्थ्य शाखासँग नभएको जानकारी दिए।









