कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनमार्फत पूर्व स्वीकृतिविना व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो ।
हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ । पूर्व स्वीकृतिविना व्यापार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले स्पष्ट पारे ।
यसैगरी, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ । स्थानीय सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थानमा पशुचौपाया बाँध्ने तथा बालुवा, गिट्टी, ढुंगा, काठ, इँटा, माटो लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागिएको छ ।
नगरपालिकाको पूर्व स्वीकृतिविना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पुर्याउने कार्यले सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ । “सडक क्षेत्रमा अवरोध पुर्याउने वा क्षति गर्ने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि, २०७६ बमोजिम कारबाही गरिनेछ,” प्रमुख प्रशासकीय अधिकृत बिष्टले भने ।
नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार रोक्न र सर्वसाधारणलाई सचेत पार्नका लागि नगर प्रहरीसमेत परिचालन गरी निरन्तर रूपमा अनुगमन तथा सचेतीकरण कार्य गरिरहेको जनाएको छ ।
>









