रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरममा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ । शनिबार दिउँसो दवाङ लेकमार्गमा गाईबाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगर बेपत्ता भएका थिए ।
खोजी कार्यका क्रममा आज उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक दुवैको शव परीक्षणका लागि रोल्पा अस्पताल लगिएको छ ।
सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।







