काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा हेरिने नाडा अटो शो २०२६ यसपटक विगतका संस्करणभन्दा फरक र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो ५०औं वार्षिकोत्सवलाई विशेष बनाउँदै आयोजना गर्न लागेको १८औं संस्करणमा नेपाली उत्पादनदेखि अत्याधुनिक रोबोटसम्मलाई प्रमुख आकर्षण बनाउने भएको छ ।
यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने ६ दिने मेलालाई नाडाले ‘स्वर्ण उत्सव संस्करण’का रूपमा अघि बढाएको हो । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा २०० भन्दा बढी स्टल रहने प्रदर्शनीमा सवारीसाधन, अटोमोबाइल प्रविधि, पार्टपुर्जा, वित्तीय सेवा तथा नयाँ पुस्ताका मोबिलिटी प्रविधि एउटै छानामुनि देख्न पाइनेछ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार नाडाको पाँच दशक लामो यात्रामा नेपालको अटोमोबाइल क्षेत्र आर्थिक तथा औद्योगिक विकासको महत्वपूर्ण हिस्सा बनेको छ । त्यसैले यसपटकको अटो शो केवल गाडी किनबेच वा प्रदर्शनको थलो नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको उपलब्धि र आगामी सम्भावनाको प्रतिबिम्ब बनाउने उद्देश्य राखिएको छ ।
गाडी मात्र होइन, अब रोबोट पनि !
यस वर्षको अटो शोको सबैभन्दा फरक आकर्षण भनेको G1 ह्युमनोइड रोबोट र Go2 क्वाड्रुपेड रोबोट हुनेछन् । मानिसजस्तै हिँडडुल तथा विभिन्न गतिविधि गर्न सक्ने ह्युमनोइड रोबोट र चार खुट्टे रोबोटको प्रदर्शनमार्फत भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा हुन सक्ने प्रविधिगत परिवर्तनबारे दर्शकलाई प्रत्यक्ष अनुभव गराउने तयारी छ ।
यसले अटो शोको दायरा परम्परागत मोटर प्रदर्शनीबाट बाहिर निकालेर ‘फ्युचर मोबिलिटी’ तर्फ लैजाने अपेक्षा गरिएको छ ।
‘Made in Nepal, Made for Nepal’ विशेष प्याभिलियन
अटो शोमा यसपटक स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । ‘Made in Nepal / Made for Nepal Pavilion’ मार्फत नेपालमै उत्पादन तथा एसेम्बल हुने सवारीसाधन, ल्युब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, कम्पोनेन्टलगायत सामग्री प्रदर्शन गरिनेछ ।
यसले नेपालमा अटोमोबाइल क्षेत्रमा बढ्दै गएको स्वदेशी उत्पादन र एसेम्बली क्षमताको झलक समेत दिनेछ ।
२३ कार ब्रान्डदेखि दुईपांग्रे र कमर्सियल भेहिकलसम्म
आयोजकका अनुसार प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल, विभिन्न दुईपांग्रे ब्रान्ड तथा १० वटा वित्तीय एवं बीमा सेवा प्रदायक सहभागी हुनेछन् ।
त्यस्तै, अटो पार्ट्स, एसेसरिज, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका सामग्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ ।
विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारीसमेत गरेका छन् । त्यसैले नयाँ गाडी तथा प्रविधिबारे जानकारी लिन चाहने उपभोक्ताका लागि अटो शो महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको विश्वास छ ।
ईभी र स्मार्ट मोबिलिटीमा विशेष जोड
नेपालको अटोमोबाइल बजार पछिल्लो समय विद्युतीय सवारीसाधनतर्फ तीव्र गतिमा अघि बढिरहेका बेला यसपटकको नाडा अटो शोमा ईभी, स्मार्ट मोबिलिटी, कनेक्टिभिटी र दिगो यातायात मुख्य विषय बन्नेछन् ।
प्रदर्शनीसँगै स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम तथा छलफल पनि आयोजना गरिनेछ ।
नाडाले शिथिल बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, नयाँ प्रविधिको प्रवद्र्धन गर्न तथा उपभोक्तालाई विद्युतीय सवारीसहित नवीनतम प्रविधिबारे जानकारी दिन अटो शो महत्वपूर्ण हुने जनाएको छ ।
दर्शकका लागि पार्किङदेखि स्वास्थ्य सेवासम्म
अटो शोमा आउने दर्शकको सुविधालाई समेत विशेष प्राथमिकता दिइएको छ । पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनअन्तर्गतको पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसर प्रयोग गर्ने व्यवस्था गरिएको छ । पार्किङस्थलबाट प्रदर्शनीस्थलसम्म आउजाउका लागि सटल बस सेवा समेत सञ्चालन गरिनेछ ।
त्यस्तै, प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, आगो नियन्त्रण व्यवस्था, आपत्कालीन स्वास्थ्य टोली, ट्राफिक सूचना डेस्क तथा व्हीलचेयर सेवा उपलब्ध हुनेछन् । सञ्चारकर्मीका लागि छुट्टै मिडिया डेस्क र दर्शकका लागि क्याफेटेरियाको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ ।
खल्तीबाट टिकट, ५० प्रतिशतसम्म क्यासब्याक
दर्शकले खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ ।
नाडाले अटो शोमा ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरेको छ । यससँगै पाँच दशक लामो नाडाको यात्रालाई स्मरण गर्दै आयोजना हुन लागेको यो संस्करणले नेपालको अटोमोबाइल उद्योग कहाँ पुग्यो र अब कतातर्फ जाँदैछ भन्ने तस्वीर एकै ठाउँबाट देखाउने अपेक्षा गरिएको छ ।
अर्थात्, यसपटक भृकुटीमण्डपमा गाडी मात्रै देखिने छैनन्—नेपाली उत्पादन, ईभी, स्मार्ट मोबिलिटी र रोबोटमार्फत भविष्यको यातायातको झलकसमेत देखिनेछ ।










