काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को १८औं संस्करणको नाडा अटो शो–२०२६ सुरु भएको छ ।
मंगलबार काठमाडौको भृकुटीमण्डपमा मंगलबार उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले संयुक्त रूपमा शोको उद्घाटन गरेका हुन् ।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार २०० भन्दा बढी स्टलहरू रहेका छन् । नाडाले सटल बसको निःशुल्क व्यवस्था गरेको छ ।
खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरिएको छ भने सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै मेलामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था छ ।
यसपटक अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) तर्फ आकर्षण बढेको पहिलो दिनमै देखिएको छ ।
प्रदर्शनीको पहिलो दिनमै अवलोकनकर्ता र ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, छ पाङ्ग्रे र आठ पाङ्ग्रे सवारी साधनहरूका साथै पछिल्लो समय लोकप्रियता कमाइरहेका ईभी र परम्परागत आईसीई इन्जिन भएका सवारीहरू समेत राखिएका छन् । सवारी साधनका अतिरिक्त अटोमोबाइल कम्पोनेन्ट र सफ्टवेयरहरूको समेत प्रदर्शनी भइरहेको छ ।
अटो शोमा ५ दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म दर्शनीमा राखिएका छन् ।
हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् ।
त्यस्तै, नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पाट्र्स तथा एसेसरिजका कम्पनीहरूको समेत सहभागिता छ ।










