काठमाडौं । विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् ।
बाढीको समाचार बाहिर आएलगत्तै विहान १०:३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए ।
दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौं ल्याइने तयारी भइरहेको बताए ।
यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ । त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।
छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तर–सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरुलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो ।








