काठमाडौं । नेपाल आयल निगमले भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म मागअनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए । अभाव हुने हल्लाका कारण अनावश्यक रूपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए ।
अहिले बजारमा देखिएको कृत्रिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्रिबितरण गर्न सुरु गरिएको उनले बताए । नेपालमा पर्याप्त रूपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न उनले आम उपभोक्तालाई आग्रह गरे । प्रवक्ता ठाकुरले हालसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भए पनि आगामी दिनमा के हुन्छ भन्ने स्पष्ट नभएको बताए ।
उनले डिजेल र पेट्रोलको हकमा १५/१५ दिनमा नयाँ मूल्यसूची आउने भए पनि हवाई इन्धन र एलपी ग्यासको हकमा एक महिनामा नयाँ मूल्यसूची आउने बताए । नयाँ सूची प्राप्त भएपछि ग्यासमा बृद्धि भएको मूल्य यकिन हुने उनले बताए । त्यसपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने आवश्यक निर्णय हुने उनको भनाइ छ ।









