मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान करिब १०ः३० बजे मनहरी गाउँपालिका–३ घर भएइ हाल हेटौंडा–१ बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती ४२ वर्षीया भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी दिए ।
उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले घाइते भुजेललाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकको मुख, दुवै हातखुट्टा तथा ढाडमा निलडाम चोट देखिएको छ। कुटपिटमा संलग्न श्रीमान रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।









