काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् भन्ने स्मरण पनि गराएका छन् । पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभई सभामुख विपक्षी सांसदहरुसँग बहसमा पनि उत्रिने गरेकोमा आपत्ति प्रकट गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्– सरकारमाथि उठेका प्रश्नहरुको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् ।










