काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान २ः५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो । दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा रेफर गरिएको थियो ।
दुर्घटनामा चन्द्रागिरि नगरपालिका–१२ हरियालीका ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, स्कुटरको पछाडि सवार चन्द्रागिरि नगरपालिका–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपालको पनि बिहान ७ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










