८७ वर्षको उमेरमा पनि परोपकारको यात्रा : राजी राणाले दिइन् बाढीपीडितलाई १ करोड ९ लाख
काठमाडौं । उमेरले ८७ वर्ष पार गरे पनि समाजप्रतिको जिम्मेवारीबाट राजी राणा टाढिएकी छैनन्। प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैपटक १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्।
व्यक्तिगत रूपमा राहत कोषमा गरिएको ठूलो सहयोगमध्ये उनको योगदानलाई विशेष रूपमा हेरिएको छ।
उमेर र स्वास्थ्य अवस्थाका कारण राणा स्वयं अर्थ मन्त्रालय पुग्न सकिनन्। उनले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत सहयोग रकमको चेक पठाएकी थिइन्। उक्त चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो।
राणाको सहयोगबाट प्रेरित भएर उनको कार्यालयमा कार्यरत कर्मचारीहरूले समेत छुट्टै रकम संकलन गरी ८० हजार रुपैयाँ राहत कोषमा बुझाएका छन्।
राणाले नगद सहयोगमा मात्र आफूलाई सीमित राखेकी छैनन्। उनले थप २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउने तयारीसमेत गरेकी छन्। आवश्यकताको आधारमा अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर सहायता सामग्री पठाउने उनको योजना छ।
राजी राणाको परोपकारी यात्रा भने अहिलेको विपद्सँगै सुरु भएको होइन। स्वास्थ्य, शिक्षा, बालबालिका र विपन्न समुदायका लागि उनी लामो समयदेखि सहयोग गर्दै आएकी छन्।
काठमाडौंमा निर्माणाधीन काठमाडौं चिल्ड्रेन्स हस्पिटलका लागि उनले यसअघि व्यक्तिगत रूपमा एक करोड रुपैयाँ सहयोग गरेकी थिइन्। ‘प्रभु शमशेर एन्ड राजी राणा ट्रस्ट’मार्फत बालबालिकाको क्षेत्रमा समेत ठूलो सहयोग गरिएको छ।
विपन्न मुसहर समुदायका लागि आवास निर्माणदेखि सदर चिडियाखानामा रहेका चिम्पान्जीको संरक्षणसम्म उनको परिवारको सहयोग पुगेको छ।
श्रीमान् प्रभुशमशेर जबराको निधनपछि पनि राजी राणाले सामाजिक तथा परोपकारी कामलाई निरन्तरता दिँदै आएकी छन्।
यसपटक बाढीपीडितका लागि उनले गरेको १ करोड ९ लाख रुपैयाँको सहयोगले एउटा सन्देश दिएको छ—परोपकारका लागि उमेर बाधक हुँदैन, मन ठूलो हुनुपर्छ।








