काठमाडाैं । आज (मगंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे भएकाे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक उथलपुथलसमेत भएको थियो भने भदाै २३ गते १९ युवाहरूले ज्यान समेत गुमाएका थिए । जेनजी आन्दोलनको तत्कालीन पृष्ठभूमि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो ।
डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएन; सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै सुरु भएको विरोध केही दिनमै सडकमा पुग्यो ।
गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनमा काठमाडौंलगायत देशका विभिन्न स्थानमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो । याे प्रदर्शनका क्रममा युवाले मात्र ज्यान गुमाएनन्, राज्यकाे खर्बाैँ नाेक्सान हुने गरी सरकार तथा निजी क्षेत्रका भवनमा आगजनी भए ।
यही आन्दोलनका कारण गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ । नयाँ जनादेशले रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)लाई सत्ताराेहण गराएकाे छ । जेनजी आन्दोलनको वास्तविक सफलता सरकार परिवर्तनमा मात्र होइन, राज्य सञ्चालनको संस्कार परिवर्तनमा हुने विश्वास पनि हाे । सडकमा जन्मिएको असन्तोष संस्थागत सुधार हुँदै नागरिकको दैनिक जीवनमा देखिने परिणाममा रूपान्तरण भएमा मात्र एक वर्षअघि दिइएको बलिदान र उठाइएको आवाजले दीर्घकालीन अर्थ पाउनेछ ।







