सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता तथा लोकसभा सांसद् सम्बित पात्राले भारतमा आगजनी र हिंसा गराउने योजना असफल भएको दाबी गरेका छन्।
शनिबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले केही अराजक समूहले राजधानीका विभिन्न क्षेत्रमा अशान्ति फैलाउन खोजेको आरोप लगाए। तर, उनीहरूको प्रयास असफल भएको भन्दै उनले लोकतन्त्रको जित भएको बताए।
शनिबार भारतमा भएको प्रदर्शन रोक्न सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। यसक्रममा कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपके तथा प्रवक्ताहरू आशुतोष रङ्का र सौरभ दासलाई दिल्ली प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनीहरूलाई पक्राउ गरेर अज्ञात स्थानमा लगेको बताइएको छ। प्रदर्शनलाई समर्थन गर्न पुगेका चर्चित युट्युबर ध्रुव राठी तथा पूर्व मुख्यमन्त्रीहरू अरविन्द केजरीवाल, पिनाराई विजयन र ममता बनर्जीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।
प्रदर्शनकारीलाई जन्तरमन्तरसम्म पुग्न नदिन दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यसका लागि दिल्ली प्रहरी र अर्धसैनिक बलका करिब ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।
