काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेको बताएका छन् । मुलुकको पछिल्लो अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले अहिलेको प्रणालीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उनले बताए । उनले जेनजी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेनजीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको टिप्पणी गरे । सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्कृत नेताहरूको प्रस्तावमा प्रधानमन्त्री बनेको उल्लेख गदै साहले सरकार बनेपछिको गतिविधिहरू पनि अदृश्य र सन्दिग्ध रहेको जिकिर गरे ।
वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालत लगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको पनि नेता साहले बताए । साथै उनले प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हटाउने निर्देशन दिएर अन्याय गरेको पनि धारण राखे । संसद् पुनर्स्थापनाकाे कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै नेता साहले फेरि गिजोल्ने काम आफूहरूको लागि स्वीकार्य नरहेको बताए ।










