धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको बताए ।
भट्टलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट थप एक जना पक्राउ परेका छन् । एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–६ बस्ने २३ वर्षीय प्रमेश थारुलाई पनि पक्राउ गरिएको छ ।
टिकापुर नगरपालिका–९ खैरीपुरबाट २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–३ का २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाल पक्राउ परेका छन् ।
उनीहरूलाई प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए ।
यस्तै, टीकापुर नगरपालिका–८ खक्रौलाबाट एक ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टिकापुरकै २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका–३ लाएकपुरका २४ वर्षीय अर्जुन ऐडीलाई पनि पक्राउ गरिएको छ ।
उनीहरुलाई विशेष सूचनाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









