काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा चिनीको आपूर्ति प्रभावित हुन थालेको छ। बजारमा चिनीको उपलब्धता घटेसँगै मूल्यसमेत बढ्न थालेपछि उपभोक्तामा थप महँगीको चिन्ता बढेको छ। अघिल्लो महिनासम्म प्रतिकेजी करिब १०० रुपैयाँमा पाइने चिनी अहिले कतिपय बजारमा १२० रुपैयाँसम्म पुग्न थालेको व्यवसायीहरू बताउँछन्। थोक विक्रेता तथा स्टोरहरूले उद्योगबाटै पर्याप्त चिनी पाउन नसकेको गुनासो गरेका छन्।
बजारमा चिनीको आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेसनले १५ हजार मेट्रिकटन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारले यो कदम चालेको हो।
किन बढ्दै छ चिनीको मूल्य ?
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनका अनुसार अहिले देखिएको चिनीको संकटको प्रमुख कारण उत्पादन र राष्ट्रिय मागबीचको ठूलो अन्तर हो। नेपालमा वार्षिक करिब २ लाख ५० हजारदेखि ३ लाख मेट्रिक टनसम्म चिनीको माग रहेको अनुमान गरिन्छ। तर सञ्चालनमा रहेका स्वदेशी उद्योगहरूले त्यसको तुलनामा निकै कम मात्र उत्पादन गर्ने भएकाले आपूर्ति व्यवस्थापनका लागि आयात आवश्यक पर्ने उनको भनाइ छ।
उनका अनुसार स्वदेशी उत्पादन पर्याप्त नभएको अवस्थामा पनि आयातमा कडाइ गरिनु र बजारको वास्तविक आवश्यकता पहिचान नगर्नु अहिलेको समस्याको एउटा कारण बनेको छ।
महर्जनले उद्योगीहरूले चिनी गोदाममा राखेर बजारमा कृत्रिम अभाव सिर्जना गरेको आरोपसमेत लगाएका छन्। उत्पादन, आयात र मौज्दातको वास्तविक तथ्यांक सार्वजनिक गरी सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ।
सरकारको निगरानी बढ्दै
बजारमा चिनीको अभावबारे वाणिज्य विभागसमेत जानकार रहेको बताइएको छ। विभागले सञ्चालनमा रहेका चिनी उद्योगहरूसँग मौज्दात विवरण मागेको र आवश्यक परे उद्योगमै पुगेर अनुगमन तथा छानबिन गर्ने तयारी गरेको जनाएको छ। चाडपर्वको समयमा चिनीको माग झनै बढ्ने भएकाले अहिले नै आपूर्ति व्यवस्था सहज बनाउन नसके बजारमा थप मूल्यवृद्धि र अभावको अवस्था आउन सक्ने जोखिम देखिएको छ।










