काठमाडौं, २८ असोज। कागेश्वरी मनोहरा नगरपालिकाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज २७ गतेसम्म नगरपालिकाले १० करोड ८७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संकलित राजस्वको तुलनामा दोब्बरभन्दा बढी हो।
नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको असोज २७ गतेसम्म १० करोड ८७ लाख ७ हजार ६२६ रुपैयाँ ५९ पैसा राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ करोड १३ लाख ४७ हजार २०८ रुपैयाँ १८ पैसा राजस्व संकलन भएको थियो।
यसरी तुलना गर्दा नगरपालिकाको राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा ५ करोड ७३ लाख ६० हजार रुपैयाँभन्दा बढी वृद्धि भएको देखिन्छ। प्रतिशतका आधारमा राजस्व संकलन करिब १११ दशमलव ७ प्रतिशतले बढेको छ।
बहाल र व्यवसाय करबाट उल्लेख्य आम्दानी
नगरपालिकाले संकलन गरेको राजस्वमध्ये बहाल कर र व्यवसाय कर प्रमुख स्रोतका रूपमा देखिएका छन्। असोज २७ गतेसम्म बहाल करबाट २ करोड ३४ लाख ३४ हजार ४३६ रुपैयाँ र व्यवसाय करबाट १ करोड ९९ लाख ६२ हजार ६२४ रुपैयाँ संकलन भएको छ।
त्यस्तै, नक्सापास दस्तुरबाट १ करोड ८६ लाख २५ हजार ७७३ रुपैयाँ र सिफारिस दस्तुरबाट १ करोड ७३ लाख ९८ हजार १३९ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ।
सम्पत्ति करबाट ८४ लाख ३१ हजार १८४ रुपैयाँ, भूमिकर (मालपोत) बाट ४७ लाख ३३ हजार ९८७ रुपैयाँ तथा सेवा शुल्कबाट ७१ लाख ५३ हजार ६४० रुपैयाँ संकलन भएको छ।
यी शीर्षकबाट संकलित रकमले नगरपालिकाको आन्तरिक आम्दानीमा विभिन्न कर तथा सेवा दस्तुरको योगदान रहेको देखाउँछ।
करदातासम्म पुगेर संकलन अभियान
नगरपालिकाले राजस्व संकलन बढाउन करदातालाई प्रत्यक्ष रूपमा लक्षित गर्दै अभियान सञ्चालन गरिरहेको छ। राजस्व शाखा प्रमुख उद्धवप्रसाद कडेलका अनुसार कर संकलनलाई प्रभावकारी बनाउन वडा तथा टोलस्तरमा पुगेर करदातालाई कर तिर्न प्रोत्साहित गर्ने र करसम्बन्धी जानकारी दिने काम भइरहेको छ।
उनका अनुसार पछिल्लो समय राजस्व शाखालाई थप सक्रिय बनाउँदै कर संकलन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन प्राथमिकता दिइएको छ। करदातालाई करसम्बन्धी जानकारी उपलब्ध गराउने तथा कर तिर्न प्रोत्साहित गर्ने अभियानले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको उनले बताए।
नगरपालिकाले सञ्चालन गरेको अभियान र राजस्व शाखाको सक्रियताका कारण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलन बढेको कडेलको भनाइ छ।
राजस्व संकलनमा देखिएको यो वृद्धिले नगरपालिकाको आन्तरिक आय परिचालनमा सकारात्मक संकेत गरेको छ। आगामी दिनमा पनि कर प्रशासनलाई व्यवस्थित बनाउँदै करदाताको सहभागिता बढाउन सके स्थानीय तहको आन्तरिक स्रोत थप सुदृढ बनाउन सहयोग पुग्ने देखिन्छ।



