वासिङ्टन डीसी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका छन् । इरानले आफ्नो आणविक हतियार विकाससम्बन्धी महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता पूरा नगरे अमेरिकी रक्षा संयन्त्र पुनः सक्रिय हुन तयार रहेको हेगसेथले बताए ।
उनले भने, ‘यदि इरानले आफूले भनेअनुसार काम गरेन भने अमेरिका पुनः कडा नाकाबन्दी लागू गर्न पूर्ण रूपमा सक्षम छ ।’
अमेरिका–इरान सम्झौताअन्तर्गत अमेरिकाले अप्रिलदेखि लागू गरेको समुद्री नाकाबन्दी हटाउन सहमत भएको छ। उक्त नाकाबन्दीका कारण इरानको तटमा आउने–जाने जहाजहरूको आवागमन प्रभावित भएको थियो । हेगसेथका अनुसार आगामी सबै वार्ता र सम्भावित सैन्य कदमहरू इरानको आणविक कार्यक्रमलाई केन्द्रमा राखेर अघि बढाइनेछ । यदि इरानले सम्झौताको पालना गरेन भने, रक्षा मन्त्रालय आवश्यक परे पुनः कारबाही सुरु गर्न तयार छ,’ उनले चेतावनी दिँदै भने ।
रक्षामन्त्री हेगसेथले केही युरोपेली देशहरू होर्मुज जलडमरूमध्यमा सुरक्षित जहाज आवागमन पुनःस्थापित गर्न सहयोग गर्न तयार रहेको पनि बताएका छन् । उनले विशेष रूपमा बेलायतलाई थप सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
हेगसेथका अनुसार बेलायतले अमेरिकी सैन्य अभियान आवश्यक परे आफ्नो भूमिमा रहेका सैन्य अड्डाहरू तथा डियगो गार्सियास्थित रणनीतिक सैन्य सुविधाहरू प्रयोग गर्न सहयोग गर्नुपर्नेछ ।










