काठमाडाैं । नेपालको ऊर्जा क्षेत्रलाई उत्पादनदेखि प्रविधि, लगानी र अन्तर्राष्ट्रिय व्यापारसम्म एउटै प्लेटफर्ममा जोड्ने लक्ष्यसहित हिमालयन ग्रिन इनर्जी एक्स्पो–२०२७ आयोजना हुने भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा आगामी माघ ३, ४ र ५ गते काठमाडौंमा हुने एक्स्पोमा जलविद्युतसँगै सौर्य, वायु, बायोग्यास, बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, एआई र आइओटीजस्ता प्रविधि समेटिनेछन्।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ नारासहित आयोजना हुने यो पाँचौँ संस्करण हो। आयोजकका अनुसार यसअघि २०१७, २०१८, २०२२ र २०२४ मा एक्स्पो आयोजना भइसकेको छ।
एक्स्पोको मुख्य उद्देश्य ऊर्जा उत्पादन मात्र नभई लगानी, प्रविधि र बजारलाई एकै ठाउँमा जोड्नु रहेको इप्पानले जनाएको छ। ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, प्रविधि प्रदायक, उपकरण निर्माता, नीति निर्माता, विश्वविद्यालय, अनुसन्धान संस्था र स्टार्टअपबीच व्यावसायिक सम्पर्क तथा लगानी साझेदारीका अवसर सिर्जना गरिनेछ।
एक्स्पोमा B2B Business Meeting, Himalayan Green Energy Conference, International Country Pavilion, Green Energy Knowledge Hub, Startup Hub, प्रत्यक्ष प्रविधि प्रदर्शन, आयोजना स्थल भ्रमण, EV Rally तथा Gala Networking Dinner जस्ता कार्यक्रम हुनेछन्।
भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत र ब्राजिललगायत मुलुकका कम्पनी तथा प्रतिनिधिको सहभागिता गराउने तयारी छ।
१०० भन्दा बढी स्टल रहने एक्स्पोमा तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।





