भक्तपुर । स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित भक्तपुरको सूर्यविनायक नगरपालिकामा पुनर्निर्माण गरिएका दुई ऐतिहासिक फल्चा उद्घाटन गरिएको छ।
नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएका वडा नं. ६ का दथु फल्चा र बलाँक्व फल्चाको नगरप्रमुख बासुदेव थापाले एकै दिन उद्घाटन गरेका हुन् ।
नगरप्रमुख थापाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्का, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतसहित
जनप्रतिनिधि, स्थानीयवासी, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
परम्परागत फल्चा नेवारी समुदायको सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् । यस्ता सम्पदाले स्थानीय समुदायको मौलिक पहिचान जोगाउनुका साथै पुस्तौँदेखि चल्दै आएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन सहयोग पुर्याउँछन्।
दथु फल्चा र बलाँक्व फल्चाको पुनर्निर्माणसँगै स्थानीय ऐतिहासिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, पुनर्निर्माण गरिएका संरचनाले स्थानीय कला, संस्कृति र परम्पराको महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।





