काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गतेबाट सकिने भएको छ। बुधबार कम्पनीले जारी गरेकाे सूचनाअनुसार कुल ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि समाप्त हुनेछ ।
हाल कम्पनीको लकइनमा रहेको सेयरमध्ये संस्थापक सेयरधनीहरूको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीका कर्मचारीहरूको १७ हजार १२३ कित्ता सेयर रहेका छन्। धितोपत्रसम्बन्धी विद्यमान कानूनी प्रावधान अनुसार कम्पनीको प्राथमिक सेयर (IPO) बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीहरूको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ।
लकइन अवधि सकिएपछि यी सेयरहरू आम सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबारका लागि योग्य हुने भए तापनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको सेयरको हकमा भने नियमानुसार रोक्का नै रहने कम्पनीले जनाएको छ।









