ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र प्रतिनिधिसभा सदस्य तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले संयुक्त रूपमा ती सम्पदाको उद्घाटन गरेका हुन्।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड रुपैयाँको लागतमा यी संरचनाको पुनर्निर्माण गरिएको हो। निर्माण कार्य नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले गरेको हो।
परियोजनाको डिजाइन तथा व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्टस्, ट्र्स एन्ड कल्चरल हेरिटेज (INTACH) ले उपलब्ध गराएको थियो।
उद्घाटन कार्यक्रममा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले सम्पदा संरक्षणमा स्थानीय बासिन्दाको योगदान महत्वपूर्ण रहेको बताए। उनले जीवित सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राख्दै भारत सरकारको सहयोगको प्रशंसा गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरसहित विभिन्न जिल्लाका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा भारतले गरेको सहयोग महत्वपूर्ण रहेको बताए।
भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालका ऐतिहासिक सम्पदा संरक्षणका लागि भारतको सहयोग निरन्तर रहने बताए। उनले पुनर्निर्माण भएका यी सम्पदा नेपाल र भारतबीचको साझा संस्कृति तथा मित्रताको प्रतीक बन्ने विश्वास व्यक्त गरे।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग गरेको छ। त्यस्तै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ वटा शैक्षिक संस्था र ११ जिल्लामा १३३ वटा स्वास्थ्य संस्था पुनर्निर्माणमा समेत सहयोग गरेको जनाएको छ।










